बकबक को राजनीति

 बकबक को राजनीति

प्रकाशित:-फागुन २०,२०७६( March 3,2020 )

   

राजनीति भन्या  बकबक होईन्।यो सम्पूर्ण नीतिको मूल धुरा हो।यस बाट नै ती नीतिहरूको पाङ्ग्रो  गुड्छ र पाङ्ग्रो को गुड़ाइ घुराको अवस्थामा निर्भर गर्दछ ।राजनीति एउटा आदर्श हो र चरित्र पनि हो त्यसैले त यस्को लागि संस्कार आवश्यक मात्र होईन् अपरिहार्य छ।देश र जनता लाई सुख शान्ति समृद्धी स्वतन्त्रता सार्वभौम अखण्डता र स्वाभिमान को अवस्था मा पुर्याउने यो आफैमा एउटा हाईवे (राजमार्ग ) हो।समग्र लक्ष्य प्राप्तिका लागी देश र जनता प्रति समर्पित र संगठित दलहरू त्यो हाईवे मा अाआफ्नो गाडी गुडाइ रहेका हुन्छन्।यसै क्रम मा वुझेर नवुझेर,लोभमा दवावमा परेर,अात्तिएर मात्तिएर साना ठुला दुर्घटनाहरू भईनै रहन्छ।कहिलेकांही दुर्घटना अत्यन्त गम्भीर प्रकृतिको हुन्छ र परिणाम सामाजिक न्याय व्यवस्था उथलपुथल मात्र होईन् स्वतन्त्रता सार्वभौम अखण्डता माथी संगीन वज्रपात पनि हुन्छ।यस्तो दुर्घटना को हामीलाई अवगत छ।भोगी पनि रहेका छौं।  

राजनीतिमा नेताहरू बाट आकलझुकल चुटकिला,उखान टुक्का प्रयोग हुदा श्रोताहरूमा पुनर्ताजा, हॉसो,रमाईलो र स्फूर्ती को संचार हुन्छ।तर बोलीपिच्छे उखान टुक्काले निरन्तरता पाउन थाल्यो भने श्रोताहरू वाक्क दिक्क हैरान त हुन्छन् नै।ती नेता लाई उखान टुक्के को अलङ्कार पहिराइ दिन्छन।मुलुकको राजनीतिमा यस्तो स्थिति पैदा भई गुज्री सक्या सबैमा अवगत छ।यस्तो हुनु भन्या नेता को गरिमा र नेता प्रति को आस्था विश्वास र भरोसा मा प्रश्नचिन्ह लाग्नु हो।उखान टुक्का को अवस्था पातलिदैं गएको सर्वत्र आभास भईरहेको त छ तर वर्तमान राजनीतिमा बकबक ले निकै मार्केट लिईरहेको सर्वबुझाइ छ।

बकबक को राजनीति गर्नेहरुमा भू.पु.प्र.म.हरू नै अग्रपंक्तीमा छन्।भारतले सार्वजनिक गरेको कालापानी,लिपुलेक र लिम्पियाधुरा हाम्रो भूमि समेत को भारतीय राजनीतिक नक़्शा का सम्बन्ध मा ने.का. सभापति एवं भू.पु. प्र.म ले वर्तमान प्रधानमंत्री लाई ठाडो आरोप लगाउदै पोखरामा जे जसरी बकबक गरे त्यसैको जवाफ मा सत्तासीन दल का अर्को अध्यक्ष प्रचण्ड ने.का. सभापति माथी खनिदैं सक्दो खेदो खने।प्रजातांत्रिक मूल्य,मान्यता,आदर्श समाजवाद र लोक कल्याणकारी अवधारणामा आधारित कुनैपनि राजनीतिक दल आफैमा कदापि गलत हुदैन्।नेतृत्व को कारण दल कहिले हाईहाई त कहिले बाईबाई को अवस्थामा पुग्दछ।नेतृत्व को आपत्तिजनक सार्वजनिक अभिव्यक्ति विरूद्ध बिषवमन गर्दै खेदो खन्नु प्रतिशोधात्मक अभिव्यक्ति त भयो।तर मुलुकको राजनीतिमा प्रजातन्त्रको इतिहास कोरेको प्रजातांत्रिक आधारशिला खडा गरेको दल नेपाली कॉंग्रेस संगको हातेमालो र सहयात्राकै परिणामस्वरूप हामीहरू आज को अवस्थामा अाइपुग्या छौं।प्रजातन्त्र मूल हो।गणतन्त्र संघीयता समावेशी र पहिचान यी सबै प्रजातन्त्रको अवयवहरू हुन्।सत्तासीन दलको अर्को अध्यक्ष एवं नेपाली राजनीतिका सशक्त नेता प्रचण्डले “ नेपालको इतिहासमा किंवदन्ती,नेपाली कॉंग्रेसएउटा यस्तो पार्टी थियो भन्ने ठांउमा पुग्न कत्ति बेर लाग्ने छैन्” भन्दै बकबक गर्नु दलीय राजनीतिक संस्कृति विपरीत हो।किंवदन्ती को बन्ने हो भावी  राजछैन्नीतिले  तय गर्ने छ।पूर्वी युरोप लगायत कतिपय देशहरूमा कम्युनिजम किंवदन्ती बनेको जगजाहेर छ।भू.पु.प्र.म.डा. साप ले पनि त वर्तमान प्र.म.लाई खोक्रो राष्ट्रवाद र विदेशी संगको सॉठगॉठ को आरोप लगाउदै बकबक गरेकै हो।बकबक कहीलेकांही आत्मघाती  हुन्छ।दुईटै भू.पु.प्र.म.हरूले  पोखरामा गरेको बकबक को राजनीति आत्मघाती साबित भयो।निर्वाचनमा हार त भयो नै चर्को आलोचना र लान्छना पनि खेप्नु पर्‍यो ।त्यो चाहीं आकाश तिर मुन्टो फ़र्क़ाएर थुक्या जस्तै भयो त। 

 जुगॉ उखेली सकिएको, बङ्गारो झारी सकिएको,नङग्रा भाँचि सकिएको पूर्व राजा लाई “ हामीले उदारताको साथ नागार्जुनमा बस्न दिएका छौं धेरै बकबक नगर्नुस” भन्दै प्रचण्ड ले चेतावनी को भाषामा बकबक गर्न पनि भ्याय् ।जग्गा प्रकरणमा गच्छेदार लाई अख़्तियार अनुसन्धान आयोगले कारवाही गर्ने भनिएको कारणले होईन् कि एउटै बिषयक प्रकरणमा कसैलाई उन्मुक्ति दिने त कसैलाई कारवाहीको दायरामा ल्याउने असमान व्यवहार विरूद्ध नेपाली कॉंग्रेस ले तीन दिन सम्म संसद अवरूद्ध गर्दै  बकबक को राजनीति गर्‍यो।भ्रातृ संगठनहरू लाई सडकमा उतार्यो तर एकाएक उक्त विषय लाई राजनीतिक रूपमा उठाउने घोषणा गर्दै संसद अवरूद्ध को कार्यक्रम लाई तुहायो।

सरकार प्रमुख पनि त बकबक को राजनीति बाट अलग छैनन्।फागुन ०४ एउटा शिलान्यास कार्यक्रममा “ विकासको जून लहर सृजना गरेको छ सरकारले त्यस्को विरूद्ध देशी विदेशी षड्यन्त्रकारी तत्वहरू प्रतिक्रियावादी शक्तिहरू लागेका छन्” भन्दै  सरकार प्रमुखले बकबक गर्या त हो नै। “आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलो को एकातिर गोकुल वास्टोला अर्कोतिर अरु सबै जस्तो” “सरकार को विरोध गर्नु पर्‍यो भने गोकुल वास्टोला तिर हेर्ने वित्तिकै सबै चुप लाग्ने ”सरकार प्रमुख को यस्तो सार्वजनिक अभिव्यक्ति बकबक को राजनीतिको चरमोत्कर्ष हो।


कोरोना भाइरस को सङ्क्रमण सर्वत्र बढ्दै गइरहेको र त्यस्को चर्चा सबैतिर सबै बाट भइरहेको सन्दर्भमा सत्तासीन दलका अर्का अध्यक्ष प्रचण्ड ले पोखरामा “ चीन लाई नरूचाउने मननपराउने शक्तिहरू धेरै छन् त्यही राजनीति गरेर त्यो वातावरण लाई त्रसित बनाइदिने गरेको पनि हुन सक्छ” भन्दै बकबक को राजनीति गरे।आज कोरोना को सङ्क्रमण दिनानुदिन विश्व स्तरमा बढ्दै गइरहेको छ,मृत्यु दर बढ्दो छ,समस्त मानव त्रसित छन्,हामीहरू पनि बाध्य भयौं “भ्रमण वर्ष २०२०” स्थगित गर्न।माधी को अवसरमा प्रचण्ड ले “ हिजोका सामन्ती राजाहरूले १२००० मारेका हुन् मलाई ५००० को ज़िम्मा दिनु हुन्छ भने म लिन्छु” भन्या सबै मा छर्लङ्ग छ।अन्तरराष्ट्रीय  अदालत मा युद्ध अपराध को मुद्दा चलाईनु पर्दछ भन्ने कुरो यदाकदा उठान भएकै हो।जनहत्या गरेको सार्वजनिक रूपमा ज़िम्मा लिनु कबुल गर्नु भन्या हाम्रो तराई भेग मा भन्ने गरिने “ आ बयल मुझे मार”भन्या जस्तो भयो नि त।प्रजातन्त्रमा न्यायपालिका स्वतन्त्र निष्पक्ष र सम्मानित मर्यादित    

हुन्छ । पूनरावेदन उच्च अदालत मा विचाराधीन रहेको र कैलाली जिल्ला अदालत बाट दोषी ठहर भई जन्म क़ैद को सजाय भुक्तान गरी रहेका चौधरी लाई नेकपा अध्यक्ष प्रचण्ड ले “ छुटाइन्छ हेर्नु  होला केही समय भित्र यस्को परिणाम”भन्दै माधी को अवसरमा सार्वजनिक रूपमा वचनबद्धता उदधोष गर्नु भन्या बकबक को राजनीति त हो नै,जंग बहादुरे शैली पनि त हो नि।जंग बहादुरले जे बोल्दा जे गर्दा पनि हुन्थ्यो ।त्यही सिको गर्या जस्तो छ त।

नेताहरू बकबक गर्न,सारङ्गी रेट्न,वांसुरी बजाउन,भ्रष्टाचार गर्न,अख़्तियार को दुरूपयोग गर्न,अनेकन प्रकरणहरूमा मतियार बन्न,भ्रष्टाचार र अख़्तियार दुरूपयोग का आरोपितहरू लाई उन्मुक्ति दिन दिलाउन मै मग्न एवं लीन छन्।भ्रष्टाचार र अख़्तियार दुरूपयोग को विशाल पहाड खडा भई नै सक्या छ।जन धैर्यता,नेताहरू प्रती को जन आस्था ,जन विश्वास,भरोसा र मर्यादा मकि सक्या  छ।राजनीतिक ज्वालामुखी को लाभा तातिदै उम्लिदै छ।कुनै पनि वखत त्यो विस्फोट हुन सक्छ।त्यो विस्फोट लाई नेतागण थेग्न सक्ने छैनन्।जन बाढी ले सर्लक्क बगाई दिनेछ,जन पहिरो ले खर्लप्प पुरि दिने छ र जन सागर ले चुर्लुम्म डुबाइ दिने छ।राजनीति एउटा चक्र पनि त हो नि ।


—————————महेन्द्र बहादुर सिहं

Comments

Popular posts from this blog

नेताकृत राजनीति

वैकल्पिक राजनीतिक शक्ति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार