राजनीति र शक्ति संघर्ष
राजनीति र शक्ति संघर्ष
प्रकाशित:- साउन २३, २०७५ ( Aug.8, 2018 )
राजनीति लाई शक्ति संघर्ष र सत्ता भोगको एउटा खेल मात्र ठान्नेहरूको बिगबिगी छ हाम्रो मुलुकको राजनीतिमा।के शक्ति संघर्ष र सत्ता भोग नै राजनीति हो त ? प्रश्न उठ्नु स्वाभाविक हो।राजनीति लाई शक्ति संघर्ष नै ठान्ने हो भने पनि त प्रश्न उठि हाल्दछ।कस्तो शक्ति संघर्ष ?सीमा बिहीन शक्ति संघर्ष ?विपक्षी लाई सिद्ध्याउने,निमिट्यान्न पार्ने ,इतिहासको पाना बनाइदिने शक्ति संघर्ष ?वाहुवल,वहुमतीय दम्भ,प्रजातान्त्रिक मुल्य ,मान्यता ,नैतिकता ,सद्भाव र संस्कारित राजनीति विरुद्धको शक्ति संघर्ष ?कस्तो शक्ति संघर्ष ?
मुलुकमा वहुमतीय दम्भको आधारमा विपक्षीलाई निमिट्यान्न पार्ने , सिद्ध्याउने शक्ति संघर्ष को रूपमा राजनीतिको प्रयोग गर्न थालिएको आभास राजनीतिक वृत्तमा हुन थालेको छ। विपक्षीलाई सिद्दिन लागेको ,इतिहासको पाना बन्न थालेको आदि इत्यादि अनर्गल एवम् संस्कारित राजनीति विपरीत अभिव्यक्ति दिनु ,भाषणगर्नु प्रजातन्त्र विरोधी कार्य हो । विपक्षीको अभावमा प्रजातन्त्र हुदैन र विपक्षी अस्तित्वमा रहेसम्म मात्र प्रजातन्त्र जीवन्त रहन्छ ।विपक्षी सिद्दिनु भनेको सर्वसत्तावादी अवस्था सृजना हुनु हो।तसर्थ विपक्षी लाई सिद्धिन लागेको ,इतिहासको पाना बन्न थालेको भन्दै फलाक्नु निश्चितरूपमा सर्वसत्तावादी सोंच र मनसायको अभिव्यक्ति हो।
राजनीतिमा उतार चढाव ,नरम गरम,सशक्त र कमजोरको अवस्था स्वाभाविक हुन्छ।जनता कहिलेपनि कसैको पेवा हुदैन ।जनता देशको, देशका लागी हुन्छ। जनताले दलहरु लाई बहुमतमा मात्र होइन छिंदीमा पनि पुर्याउद् छ ।सत्तासिन नेकपा को एउटा खेमा लाई एक नम्बर र अर्को लाई तेस्रो स्थान मा पुर्याइ छिंदीमा बसालेको विगतको राजनीतिक धटनाले देखाउंद छ। त्यस्कारण राजनितीमा दलहरूको पकड सधै एकैनासको हुदैन । यो कटु तथ्य लाई नेताहरूले हेक्का राख्नु पर्दछ ।खेदो नै खन्ने र लखेट्ने नै हो भने त्यस्का लागि सबै दलहरू सक्षम,सबल र सशक्त छन् ।सबैले सबैलाई नाङ्गो झार पार्न सक्दछ। के देश र हामी जनताले चाहेको खोजेको त्यही नै हो त?
प्रजातन्त्रमा कसैले कसैलाई सिद्ध्याउने त के सिद्दिन लागेको सम्म पनिभन्नु प्रजातन्त्र विरोधी हुन्छ ।जगजाहेर छ कि पक्ष र विपक्ष प्रजातन्त्रको अपरिहार्य आवश्यकता हो । एउटा मात्र दलको अवस्था अधिनायकवादी सर्वसत्तावादी अवस्था हो।कतै देशलाई बिस्तारै उतैतिर लान खोजेको त होइन ? विगतको अधिनायकवादी केन्द्रीकृत सर्वसत्तावादी अवस्था लाई समाप्त पार्दै हामी आजको अवस्थामा आइ पुग्या हो।फेरि पनि भिन्दै नाममा देशलाई त्यस्तै अवस्थामा लान खोज्या हो कि ।त्यस्तो अवस्थामा जान खोज्नु र जानु भनेको टाउको ले भुइँ टेक्नु र शरीरको तल्लो अङ्गले आकाश हेर्नु जस्तै हो। खसोखास भन्नुपर्दा हाम्रा नेताहरू देश र जनताको हकमा अब्बल छन्।राष्ट्र, राष्ट्रियता ,स्वाभिमान र जन -सम्मृद्दी को हकमा सशक्त छन्।विदेशीको गिद्धे दृष्टि र हस्तक्षेप विरुद्ध खरो उत्रिन्छन।तर पनि सत्तासीन रहदा तिनीहरु किन आरोपित हुन्छन् ।सत्तासीन पुर्वको र सत्तासीन पछिको तिनीहरु को भाषण र ब्यवहारमा किन चिरा पर्दछ।स्वार्थका लागी नै चिरा पर्या हो त।आखिर स्वार्थ के कस्का लागी ।सात पुस्तालाई पुग्ने धन ,घर ,धडेरी,यशआराम,विदेशी बैंकमा अथाह ब्यालेन्स को स्वार्थ हो भने त्यो अदूरदर्शी ,चेतनाहिन ,मुर्खतापूर्ण स्वार्थ हो। यस्तै स्वार्थको कारण मुलुकका र विस्वका विभिन्न मुलुकका नेताहरूको अन्त्यमा के हविगत भयो राजनीतिमा चाह राख्ने सबैलाई अवगत नै छ।हाम्रा नेताहरूलाई त झनै बढी थाहा हुनुपर्ने हो।जून स्वार्थको नतिजा आत्मघाती हुन्छ त्यसतर्फ लाग्नु किन ?हाम्रा नेताहरू सैद्धान्तिक वैचारिक ज्ञान र भाषणमा अत्यधिक निपुर्ण तर तिनीहरुमा विवेकशिलको मात्रा अत्यन्त न्युन भएर हो कि । तिनीहरु लाई विवेकशिल जनताले कक्षामा राखी संस्कारित राजनीति र मर्यादित प्रजातन्त्र पढाउनु पर्ने आवस्यक भएर हो कि।
सत्तासीन नेकपा वर्तमानमा निकै सशक्त छ।त्यस्लाइ ढाल्ने त के हल्लाउन पनि नसकिने अवस्था छ।त्यस्कारण त्यो दलले राजनीतिक दादागिरी गर्नु सर्वसत्तावादी ठहरिने छ।हात्ती त्यसै ठुलो र बलियो हुन्छ ।सबैलाई थाहा भएकै सत्य हो।तर त्यो हात्तीले जथाभावी तोडफोड गर्न थाल्यो भने हात्ती बहुलायो भनिन्छ ।यस्तो स्थिति पैदा नहोस् ।मुलुकको प्रजातान्त्रिक आन्दोलनमा इतिहास रचेको ,मुलुकको राजनीतिमा जनताले धेरैपटक शिर्ष स्थानमा पुर्याएको ने.का.को मुलुकको वर्तमान राजनीतिमा आफ्नै कारणले पकड निकै कमजोर छ।नेता र कार्यकर्ताहरुको सधैंको खैलावैला बाट वाक्क दिक्क भएर यसपालि जनताले छिंदीमा पुर्याइ दिये।ने.का.को यस्तो अवस्था देखेर जनता दुखी छन्।ने.का.सशक्त भएको हेर्न जनता आतुर छन् तर के गर्नु अन्तरकलह साम्य हुनै सक्या छैन । राजनीतिक असन्तुलनको अवस्थामा प्रजातन्त्रमा धमिरा लाग्न सक्ने सम्भावना प्रबल रहन्छ ।जनताले मुलुकमा राजनीतिक सन्तुलनको अवस्था चाहान्छन। हालको अवस्थामा ने.का.ले राजनीतिक मचान बनाई बस्नु पर्दछ र बडो संयमित भई शक्ति संचित गर्दै चील (EAGLE) झैं चारैतिर नजर दौडाउनु पर्दछ ।
हाम्रा नेताहरूको विचार र भाषणमा सत्तासिन पुर्व र पछिको अवस्थामा अदृश्य शक्ति को प्रभावको कारण फरक आउने गर्या हो कि ।आन्तरिक वा बाह्यअदृश्य शक्तिको प्रभाव र चलखेल तर्फ ध्यान नदिनु वेवास्ता गर्नु पेटमा भएको जुका लाई वेवास्त्ता गर्नु जस्तै हो। कालान्तरमा त्यो जुका ले मस्तिष्कमा प्रवेश गर्द्छ र जीवनलीला समाप्त हुन्छ ।
------------------महेन्द्र बहादुर सिंह
Comments
Post a Comment